Friday, January 11, 2013

'गधा'

म गधा हुँ
र मैले कहिल्यै गरिनँ
मालिकहरूविरुद्ध विद्रोह... !

एकमुठी चनाको लोभमा
सहिरहेँ जाँतोका भारीहरू
माघको झरीमा पनि खुल्ला आकाशमुनि
चपाइरहेँ :श्रमको भ्रामक पारिश्रमिक....!

साँघुरो, एकदमै साँघुरो भीरमा
असह्य भारी बोकेर
मालिकहरूलाई रोमान्चित पारिरहेँ
एउटा असल श्रमजीवी पत्रकारजस्तै
मालिकहरू रोमान्चित भएको देखेर आफैँ रोमान्चित भइरहेँ...!

सर्वदा घिउलाटो-इमान्दार रहेर
महानदीको तिरैतिर ज्यानमारा भीरमा आजन्म हिँडिरहेँ,
अहँ, स्पार्टाकस बनेर
हार्नकै लागि किन नहोस्   
जीवनमा एकपटक पनि गरिनँ मालिकहरूविरुद्ध विद्रोह.... !




:नरेन्द्र पराशर

No comments:

Post a Comment