(मित्र युग पठकको हातबाट मैले “खोलाघरे साइलो” को कथा संग्रह “ऐंजेरु
र आगो” पाएको हुँ । उनको त्यही कथासंग्रहबारेमा मैले आफ्ना बिचार राखेको
छु । खोलाघरे साइलो ईलामको दुर्गम गाउँमा रहेर साहित्य रचना गर्नुहुन्छ ।)
समुद्र उसै बनेको हुँदैन । त्यसको अकल्पनीय अस्तित्वको पछाडि अनेकौँ
सानाठूला खोला-खोल्सी, नदी र महानदीहरुको अपार योगदान रहेको हुन्छ । ती सबै
प्रकारका पानीका स्रोतहरु विविध प्रकारले समुद्रमा पुगेर एक महाअस्तित्वको
विशालतामा विलय हुन पुग्दछन् । एउटी गंगाको पानीले मात्र समुद्र बनेको
हुँदैन । त्यस्तै साहित्यको महासिन्धुमा पनि एक एक अक्षर र शब्दहरुको
उत्तिकै महत्त्व हुन्छ । नेपाली साहित्यलाई आजको उन्नत अवस्थामा
ल्याइपुर् याउन अनेकौँ शब्दसिल्पीहरुको अर्थपूर्ण योगदान रहेको छ । यसरी ती
अनेकानेक भावसहित प्रकट हुने अक्षर र शब्दहरुलाई साहित्यिक परिपाकले गति र
गन्तव्य सिर्जना गर्ने सबै प्रकारका रचनाकारहरुलाई उदार हृदयले सम्मान
गर्ने हाम्रो परम्परा पनि रहिआएको छ । आजभोलि सन्चारको द्रूततर विकासले
लेखन र त्यसको प्रचारप्रसारलाई धेरै अर्थमा सहज र सरल बनाइदिएको छ । यही
सेरोफेरोमा धेरै कृतिहरु प्रकाशित हुँदै आएका पनि छन् । हालसालै वाणी
प्रकाशन विराटनगरले प्रकाशित गरेको कथाकार “खोलाघरे साइलो”को “ऐजेरु र आगो”
पनि एक हो ।
इलाम घर भई श्री दुर्गा उमावि पाँचथर रविमा शिक्षण पेसामा संलग्न कथाकार
खोलाघरेले पूर्वी नेपालको दुर्गम क्षेत्रमा रहेर आफूले देखेका भोगेका र
महसुस गरेका अनेकन दृश्य र अनुभवलाई कथाका रुपमा प्रस्तुत गरेका छन् । १३
कथाहरुको सँगालोको रुपमा आएको यो कृतिले पूर्वेली ग्रामीण जगतका धेरै
आयामहरुलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ ।
नेपाली समाजमा रहेका अनेकन विकृति विसंगतिहरुलाई नजिकबाट हेर्न र बुझ्न
सहरका आँखाहरुको दृष्टिमात्र पर्याप्त हुँदैन । अझै पनि नेपाली जनताको ठूलो
हिस्स्ाा ग्रामीण भेगमा नै रहेको छ र ग्रामीण परिवेशमा हुने गरेका
दैनन्दिनका अनेकन घटनाहरुभित्र एउटा भर्भराउँदो साहित्यको खजना लुकेको छ
भन्न सकिन्छ । छरछिमेकीहरुबीचको सम्बन्ध, सानातिना ऋण वा सापटी, लेनदेन,
अैँचोपैँचो, पालो-पर्म, चाडपर्व, जात्रामेला, विवाह-व्रतबन्ध, खेतीपाती,
घाँसदाउरा आदिजस्ता सम्बन्ध र तिनका अनेकन अवयव र अवस्थाहरुमा अनौठा घटना
वा नाटकीय रुपरेखा हुन्छन्् । त्यस्ता प्रवृत्ति र पाठहरुलाई कुशल लेखकले
कलात्मक रङरोगन भरेर मीठो साहित्यमा रुपान्तरण गर्न सक्छ ।
खोलाघरे साइलोले पनि ठीक यही काम गर्ने प्रयास गरेको देखिन्छ । महँगा
बेलायती कुकुर पाल्न रुचि राख्ने सहरिया बुद्धिजीवीहरुलाई गाउँका
बाख्रापाठाहरुको महŒव कत्तिको हुन्छ यसै भन्न गार् हो छ । किनभने सहरको
मोटामोटी अवचेतन मनले आफू अलि ‘सुकिलोमुकिलो’ नै हुँ र गाउँलेहरुले ‘सिक्न
धेरै बाँकी छ’ भन्ने अहं पालेको हुन्छ साथै गाउँघरतिरका पसिना, गोठ, गोबर र
भकाराका कुरामा कुनै महŒव देख्नुअघि गहन तर्कवितर्क गरेर तिनलाई महत्ताहीन
साबित गरिदिन्छ ।
तर पनि खोलाघरे साइलोले पूर्वी नेपालको परिवेशमा तयार पारेका कथाहरुले
गाउँघरमा देखिने लोग्नेस्वास्नीका झगडा, ग्रामीण जीवनको मनोवृत्ति,
सामाजिक-राजनीतिक चेतनाको अवस्थालाई सम्बोधन गर्दै कथा तयार पारेका छन् ।
यी कथाहरुभित्र पाइने प्रकृतिप्रतिको सम्म्ाान र रसमोह, पशुहरुप्रति दया र
करुणा, वर्तमान र विगतका राजनीतिक परिवेशप्रतिको व्यंग्यले पाठकलाई विशेष
सन्देशसहित रमाइलो गराइरहन्छन् ।
तर पनि कथारचनाको शिल्प र शैली बाह्य र आन्तरिक संरचना, भाषा, घटना, पात्र-
द्वन्द्व आदिलाई रचनाकारले राम्ररी ध्यान दिनुको सट्टा हतारिएर र कुनै
प्रकारको परिमार्जन तथा प्रशोधन नै नगरी पाठकसमक्ष प्रस्तुत गरेको आभास
मिल्छ । जसले गर्दा कथाहरुले दिन खोजेको सारसंक्षेप गतिलो हुनसक्ने
सम्भावना हुँदाहुँदै पनि प्राय कथाहरु कताकता नुन नहालेको तरकारीजस्तो बन्न
पुगेका छन् ।
कथाकारले कथाको आरम्भ आकर्षक ढंगबाट गरेको देखिन्छ तर पनि त्यसको आकर्षण
धेरैबेरसम्म वा अन्त्यसम्म कायम राख्न नसक्दा कतिपय कथाहरु कमजोर
देखिन्छन् र कथाको सन्देशलाई मूर्तता दिन पनि सकेका छैनन् । ‘भाकल’ र
‘झरीमा’ रुझेको मनजस्ता कथाको मूल सन्देश पशुहरुलाई हेर्ने परम्परागत
धार्मिक अन्धविश्वासमाथि अपूरो ढंगले प्रहार गर्नु मात्र बन्न पुगेको छ जब
कि त्यसलाई पशुअधिकार र शाकाहारी भोजनको महŒव र गरिमासँग पनि जोड्न सकेको
भए कथा उच्चकोटीको हुने थियो । त्यस्तै ‘ऐजेरु र आगो’ कथामा उपयोग गरिएका
यथार्थ पात्रहरुको नामले कथाको गरिमा बढाएको महसुस गर्न सकिन्न । त्यस्तै
‘कृषि ऋणको बोझ’ कथाले कृषकहरुमाथि पर्ने अनेक प्रकारका ऋणभारहरुको मर्का र
पीरलाई सम्बोधन गर्ने प्रयास गर्नुको सट्टा माओवादीलाई व्यंग्य गरेजस्तो
गर्दा स्वयं लेखकले नै कृषकहरुको पीडा र समस्यालाई सही तरिकाले व्यक्त गर्न
नचाहेको वा बेवास्ता गर्न खोजेको हो कि भन्ने लाग्छ ।
जे होस् खोलाघरे साइलोले ग्रामीण परिवेशमा रहेर तयार पारेका कथाहरु नेपाली
साहित्यकै अंग हुन् । आगामी दिनमा उनीबाट नेपाली साहित्यले अझ परिष्कृत,
परिमार्जित र उन्नत रचनाहरु प्राप्त गर्न सकोस् भन्ने कामनासहित उनको अथक
साहित्यिक यात्रालाई साधुवाद ।
No comments:
Post a Comment