Sunday, January 13, 2013

भयङ्कर भोक

मनमा अँध्यारोको निबिंड साम्राज्य ओर्लिएपछि
मृग-मरीचिकाजस्तै आकर्षक
जाग्छ जीवनमा
भयङ्कर भोक !

उपल्लो उपाधीको भोक
वा कुनै उच्च प्रतिष्ठाको भोक
कुनै स्थूल भौतिक विलासको लालसामात्रले
अघाउन खोज्ने
हन्तकाली
एउटा
भयङ्कर भोक !

छटपटाउँछ  त्यो भोक
अनि झन् बढी भोकाउँछ
आफ्नो आयतनको असीमिततामा
अझै तन्किन्छ त्यो भोक
र हारेको सिकन्दरसँगै  भोकभोकै मर्छ त्यो भयङ्कर भोक !

एकमुट्ठी भटमास र एक ग्लास चीसो पानीले
परितृप्त हुने क्षुद्र जैविक भोक, त्यो नाथे के भोक
मनका अनेकन् अन्तर-कुन्तरमा जमेका
आकाशजस्तै फराकिला अन्धकारका धूलोहरू
र त्यहीँ उम्रिने उर्बर तृष्णाको अजस्र  भोक पो भोक
जसले तान्छ
असन्तुष्टिको भीषण खाल्डोतिर !

कुबेरको भण्डारभित्रको  एेश्वर्य
वा नन्दन-वनको सौन्दर्यले मेटाउन नसक्ने
भोगका चौरासी व्यञ्जनले पनि अतृप्त
सुकेको जङ्गलमा लागेको डढेलोजस्तो
बेहोशीमा जागेको
अनवरत भोक
हृदयमा तमिस्राको
बादल ढाकिएपछि
जागिरहन्छ
एउटा भयङ्कर भोक !

परैबाट चिनिन्छन्
भोकाएका भयङ्कर भोका मान्छेहरू !

नाम चलाउने
यश फलाउने
हृदयको तिमिर-तुच्छता छोप्न
प्रतिवादमा गर्जिन्छ
एउटा भयङ्कर भोक !


:नरेन्द्र परशर


No comments:

Post a Comment