Saturday, January 12, 2013

'करोडौँ सूर्यहरूको अन्धकार’मा पर्यालेखनको उज्यालो'


कहाँ गए ती परीकथाका नायकजस्ता रूखहरू ?
रूखहरूमा फूलहरूजस्तै फक्रेका देखिने चराहरू ?
(भोलिको गीत)
अठारौँ शताब्दीको मध्यबाट शुरू भएको औद्योगिक क्रान्तिले फलाम र कोइलाको भरपुर उपयोग गर्दै मानव सभ्यतालाई नयाँ मोडमा उभ्याइदियो । आधुनिक परिवर्तनको त्यही मोडले मानिसको शारीरिक श्रमलाई विस्थापित गर्दै मेसिनको पकड बलियो बनायो । यान्त्रिक युगमा प्रवेशसँगै युरोपका घरेलु उद्योगहरू धराशायी भए र पूँजीको विकास तथा शहरीकरण तीव्र हुन थाल्यो । त्यही औद्योगिक क्रान्तिले नै मानिसलाई आर्थिक, सामाजिक, राजनैतिकरूपले छिटोछरितो, स्फूर्त, चेतनशील र विद्रोही पनि बनाइदियो ।

यान्त्रिक प्रविधि विकासको यही कालमा विशालकाय कलकारखानाहरूलाई भारीमात्रामा कच्चापदार्थको आपूर्तिका लागि उपनिवेशहरू आवश्यक भए । एसिया, अफ्रिका, द.अमेरिकाका प्रायः सबै अविकसित तर प्राकृतिक स्रोतहरूका भण्डारले सम्पन्न देशहरूमा युरोप र अमेरिकाको उपनिवेश कायम भयो । बस् खेल यहीँबाट शुरू भयो । कारखाना र रेल–मोटरका लागि आवश्यक पर्ने कोइला, पेट्रोल, डिजेल र मट्टीतेलजस्ता इन्धनहरूको खपतमा अत्यधिक वृद्धि हुनथाल्यो र युरोप अनि अमेरिकाको आकाश धुवाँको मूस्लोले ढाकियो । त्यो यही धुवाँ थियो जसले विश्व वायुमण्डलको तापक्रम बढाउन थाल्यो । कार्बन उत्सर्जनबाट हुने ‘ब्ल्यांकेट इफेक्ट’ले पृथ्वीको वायुमण्डलको औसत तापमानमा अकल्पनीयरूपले वृद्धि हुनगयोे । उद्योग कलकारखानाकै उपउत्पादनहरूले ओजोन तह विनाश हुन थाल्यो । यसबाट पृथ्वीका जीवहरूको बाँच्न पाउँने अधिकारमाथि नै सङ्कट आइपर्ने अवस्था सिर्जना भयो । विश्वव्यापी तापमान वृद्धिले जलवायुमा फेरबदल ल्याइदिन थाल्यो र मौसमको ठेगान नहुने अवस्था सिर्जना हुनगयो । यस समस्याले आज हिमाल र समुद्रहरू बढी प्रभावित भइरहेका छन् जसको फलस्वरूप कृषि उत्पादन र जलचक्रमा यसको दुष्प्रभाव परिसकेको छ । ‘ग्लोबल वार्मिङ’का लागि जिम्मेवार मानिएका कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता ‘ग्रीन हाउस ग्यास’हरूमध्ये कार्बन डाइअक्साइडलाई रूखबिरूवाले आफ्नो भोजन बनाउने कार्यमा खपत गर्छन् । यसर्थ वन संरक्षण नै ग्लोबल वार्मिङ रोकथामको सहज उपाय मान्न सकिन्छ । तर पनि विश्वमा वन विनाश रोकिएको छैन । जनसङ्ख्या वृद्धि, बढ्दो शहरीकरण, बेरोजगारी, बजारमा काठको माग बढ्दै जानु, बसोबास र विविध संरचना निर्माणका लागि वन फडानी आदि कारणले विश्वमा वन विनाश भएको मानिन्छ । यसरी एकातिर वन विनाश हुँदै जानु र अर्कातिर औद्योगिकीकरण झन् बढ्नुले समग्र विश्व वातावरणीय सन्तुलन गुम्दै गएको छ ।

साथै अन्नबाली र पशुपन्छीका ‘हाइब्रीड’ प्रजातिको विकास र कृषिमा कीटनाशक विषादिको प्रयोगले प्राकृतिक अनुवांशिकी क्षय हुँदै जानु पनि वातावरण विनाशको अर्को कारण भएको वैज्ञानिकहरू बताउँछन् । विषादिको प्रयोग गरी बेहिसाब कीटपतङ्गहरू मारिनु भनेको वनस्पतिको परागसेचन र चरापन्छी लगायत अन्य जीवहरूको खाद्य पदार्थ नष्ट गरिनु पनि हो । यसले जीवजन्तुको खाद्यचक्र, खाद्यशृङ्खला र खाद्यसोपानमा प्रत्यक्ष प्रभाव पार्दछ र वातावरणीय सन्तुलन खल्बलिन पुग्छ । 

वास्तवमा पृथ्वीको प्राकृतिक वातावरण दिन प्रति दिन बिग्रँदो हालतमा छ । यसको मात्रा र गति पनि 
कल्पना गरेभन्दा बढी भएको अनुसन्धानकर्ताहरू बताउँछन् । तसर्थ यसप्रकारको भयावह स्थितिबाट मानव समुदाय सुरक्षित हुनै पर्दछ । मुट्ठीभर सम्पन्न र विकसित मानिसहरूको भोगविलासको गलत क्रियाकलापले सिर्जना गरेको समस्याले आज समग्र पृथ्वीका विपन्न राष्ट्रका अति विपन्न मानिसहरू प्रताडीत हुनुपर्ने बाध्यता आइलागिसकेको छ । यसका लागि विकसित देशहरू नै जिम्मेवार छन् । अति विपन्न मानिसहरूलाई जलवायु अनुकूलतामा अभ्यस्त गराउदै जाने अनि अति विकसित मानिसहरूलाई तिनको आहारबिहार तथा आनीबानीमा परिवर्तन गर्न दबाब सिर्जना गर्नु अब साहित्यकारहरूको पनि लेखकीय अभिभारा बनिसकेको छ । 

सन् १९६२ मा अमेरिकी लेखिका रचेल कार्सनले ‘साइलेन्ट स्प्रिङ्ग’ नामक पुस्तकको कलात्मक प्रस्तुतिका माध्यमबाट डी.डी.टी.द्वारा सिर्जित समस्या र त्यसको कुप्रभावको बारेमा पहिलो आवाज उठाएकी थिइन् । त्यसयता विश्वमा पर्यालेखनको इतिहास निकै लामो भइसकेको छ । 

नेपाली साहित्यमा उद्देश्यपूर्वक पर्यालेखन उदाएको धेरै नभएता पनि आजकल प्रायः लेखकहरूले यस विषयलाई आफ्ना कृतिहरूमा धेरथोर समावेश गर्न थालिसकेका छन् । सामान्यतया सचेत कविहरू सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक जगत्मा देखापर्ने विसङ्गति, यन्त्रणा, पीडा र छटपटीबाट झट्टै प्रभावित हुन पुग्छन् र तत् तत् विषयमा आफ्ना कलात्मक अभिव्यक्ति चामत्कारिक ढङ्गबाट प्रकट गर्छन् अनि तमाम पाठकहरूमा उद्देश्यपूर्ण उत्तेजना उत्पन्न गराउँछन् । तर एक्काइसौँ शताब्दीसम्म आइपुग्दा कवितालेखनको दायरा पनि फराकिलो बन्दै गएको छ । अब नेपाली कविहरूले पनि प्राकृतिक वातावरणसँग सम्बन्धित ताता मुद्धाहरूमा उद्देश्यपूर्ण आवाजहरू उठाउन थालेका छन् । यस परिप्रेक्ष्यमा नेपाली कवितायात्रामा सोद्देश्य पर्यालेखनको सम्भवतः प्रथम काव्यकृति लिएर आउने स्रस्टा हुन् कवि अविनाश श्रेष्ठ । 

कवि अविनाश श्रेष्ठको कवितासङ्ग्रह ‘करोडौँ सूर्यहरूको अन्धकार’ मा समाहित मनोरचना काव्यअभिधाको नवीनतम प्रस्तुति हो । यस कवितासङ्ग्रहमा कवि अविनाश श्रेष्ठले ऊर्जाको आदि स्रोत सूर्य, वन–वनस्पति, कीट–पतङ्ग, जीवजन्तु लगायत मृत्तिका, जल, आकाश, वायु र तेज जस्ता पञ्चमहाभूत र तिनको सामञ्जस्यपूर्ण सन्तुलनको सौन्दर्यलाई आराधना गरेका छन् । जब समग्र प्राकृतिक सन्तुलनको तराजु तलमाथि हुन पुग्छ तब प्रकृतिकै अंशस्वरूप मानिस पनि त्यस असन्तुलनद्वारा उत्पन्न हुनसक्ने महासङ्कटबाट बच्न सक्दैन । मानिस पनि प्रकृतिकै सन्तति हो । सृष्टिकत्रृ जननीलाई विरूप तुल्याएर मानिस सदैव मुस्कुराइरहन सक्दैन । हिउँबिनाको हिमाल, पहिरोले भत्किएको पहाड, फोहर लेदोले भरिएको नदी वा उब्जनीहीन जमीनले मानवीय संवेदनालाई उत्तप्त बनाउँछ नै ।

यसरी सूक्ष्मरूपमा मानव र प्रकृतिबीचको अनादिकालदेखिको अनन्य सम्बन्धले स्थापित सामञ्जस्यपूर्ण प्राकृतिक सन्तुलन कायम राख्नुपर्ने सन्देश र स्थूलरूपमा प्रकृतिमाथि मानवीय हस्तक्षेपले गरेको बलात्कारलाई कवि अविनाशले आफ्नो काव्यकुचीमार्फत् सशक्तरूपले उजागर गरिदिएका छन् ।
कवि अविनाशको काव्यशैली उनका अन्य कवितासङ्ग्रहका कविताहरू झैँ ‘करोडौँ सूर्यहरूको अन्धकार’मा पनि मानकभञ्जककै रूपमा देखापरेको छ । एकातिर प्रत्येक कविताहरूमा देखा पर्ने शब्द–शब्दहरूले सिङ्गो प्रकृतिको ओज र उच्चतालाई गरिमामय बनाएका छन् भने अर्कातिर ती शब्दहरूले स्वतस्फूर्तरूपमा आ–आफ्ना आसनमा अर्थ बहुलतासहितको भव्यता प्रकट गरेका छन् । वास्तवमा शब्द र भाव सरलताभित्र सृजित काव्यिक जटिलता कवि अविनाशको फरक शैली हो ।

यस अर्थमा उपभोक्तवादी चरम आत्मकेन्द्रित भोगवादले सिर्जना गरेको वातावरणीय दारुण अवस्था र त्यसप्रति संवेदनाहीन हुँदै गएको मानवीय स्वभावलाई सन्मार्गमा प्रतिस्थापित गर्न कवि अविनाशको कलात्मक आघोष विश्वबोधी चैतन्यको उपज हो ।

‘करोडौँ सूर्यहरूको अन्धकार’को उत्तरार्धले काठमाण्डौँ केन्द्रित वातावरणलाई प्रतिनिधित्व गर्दछ । भनिन्छ शहरका मानिसहरूको मनस्थिति त्यहाँ बग्ने नदीमा प्रतिबिम्बित हुन्छ । तर कवि अविनाशका कवितामा त त्यसको प्रतिबिम्बन काठमाण्डौँभित्रका रिङरोड, चोभार, पशुपति, ईटा र गलैँचा कारखानाहरूमा समेत छर्लङ्ग देख्न सकिन्छ । 

यसरी ‘करोडौँ सूर्यहरूको अन्धकार’ मा कवि अविनाशले विनाश हुँदै गएको जीवन सौन्दर्यको मर्मलाई संरक्षण गर्न जुन स्तरको चैतसिक परिश्रम गरेका छन् त्यसले काव्य–पारखीहरूलाई आद्यन्त सन्तुष्ट पार्न सक्षम मात्र छैन बरू जीवन र जगत्प्रतिको जिम्मेवारी बहनको अभिभारासमेतलाई काँधमा बोक्न अभिपे्ररित गरेको छ । जबकि यी कविताहरूको गहनतम आस्वादपूर्ण पठन र मननका लागि पाठकमा निकै गहिरो ध्यान, धुन र धैर्यको आवश्यकता भने परिरहन्छ ।

प्रस्तुत कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूमा प्रयुक्त बिम्ब, प्रतीक र उपमाहरूको संयोजन र तिनको सान्दर्भिकता तथा भावोत्तेजनाले कवि अविनाशको काव्यसामथ्र्यको प्रौढतालाई उजागर गरेका छन् । कवितामा प्रयुक्त गेयात्मकता र भावप्रवाहभित्र सन्निहित सत्यं शिवं सुन्दरम्को पवित्र विचारले कविको वैश्विक चिन्तनलाई छर्लङ्ग्याएका छन् । प्रकृतिका सानाठूला अवयवहरू, समाज र मानवीय स्वभावका अनेकन् दुर्बल पक्षहरूलाई कवितामा एक अर्काको छाया पार्दै जसरी चित्रित गरिएका छन् त्यस कारीगरीले पाठकमा तीब्र कौतुक पैदा गर्दै चमत्कृत, पुलकित र रोमाञ्चित बनाउँछ र पाठक आफैँ आफ्नो कर्तव्यप्रति सचेत बन्नैपर्ने दबाबमा पर्न जान्छ । 

सारभूतरूपमा आत्मश्लाघा र आत्मभत्र्सनारहित नयाँ क्षेत्रको रूपमा देखा पर्दै गएको पर्यालेखनमा उच्च कलात्मक अभिव्यक्ति दिएर कवि अविनाश श्रेष्ठले नयाँ विषयवस्तुमा नयाँ मानक खडा गरिदिएका छन् । तर पनि विकसित राष्ट्रहरूको समूहले उठाउदै आएको वातावरण संरक्षणको नाराको ठीक पछाडि रहेको अदृश्य राजनैतिक कुटिलता अर्थात् ‘इको–पोलिटिक्स’लाई कविले कुनै एक कवितामा उठाइदिएको भए सुनमा सुगन्ध हुने थियो ।    
    
सृष्टिलाई श्रद्धा गर्ने 
प्रकृतिलाई पुज्ने मान्छेमात्र 
समर्थ छ दिन
दीर्घजीवनको उपहार
सौन्दर्यको पुरस्कार
वसुधालाई !
(करोडौँ सूर्यहरुको अन्धकार) । अस्तु । 

     २०६९।९।२८ मा राजधानी दैनिकमा प्रकाशित

No comments:

Post a Comment