Wednesday, January 16, 2013

पृथ्वी: यसका अनेक आयामहरू


विष्णुपुराणका अनुसार स्वेच्छाचारी राजा वेनले आफ्नो राज्यमा यज्ञपूजादि प्रतिबन्ध लगाएपछि ऋषिमुनिहरूले बडो कठिन दाउपेच मिलाएर उनको निर्ममतापूर्वक हत्या गरिदिए । राजाको हत्या भएपछि राज्यमा अराजकता फैलियो र सुखशान्ति, अमनचैनमा खलल पुग्नगयो । समस्याले चर्को रूप लिन थालेपछि नयाँ राजा स्थापना गर्न मृत राजा वेनको दाहिने नाडी मथेर ऋषिहरूले एक दिव्य तथा अग्निसमान उज्ज्वल राजकुमार प्राप्त गरे र उसको नाम पृथु राखे । राजा वेनको अत्याचारले धर्तीले उहिल्यैदेखि अन्नपानी, फलफूल र सागसब्जी दिन अस्वीकार गरिसकेकी थिईन् । पृथुसँग ऋषिहरूले धर्तीबाट खाद्यान्न र फलफूल माग्न भनेपछि नयाँ राजा पृथुले धर्तीलाई धनुष उठाएर अन्नपानी पैदा गर्ने आदेश दिए । तर धर्ती गाईको रूप धारण गरेर दौडिन थालेपछि पृथुले निज गाईरूपी धर्तीलाई आफ्नो पराक्रमले नियन्त्रणमा लिए र आत्मसमर्पण गराए । गाईले त्यसपछि एउटा बाछो आफूलाई दिइए सबै कुरा प्रदान गर्ने बताएपछि राजा पृथुले स्वायंभुव मनुलाई बाछो बनाएर गाईतिर पठाइदिए । ती गाईले त्यसपछि दूध दिईन् र पृथुले सो दूध आफ्ना अँजुलीमा थापे र सोही दूधबाट अन्न, फलफूल र सागसब्जीसमेत तयार हुनथाले । यसरी राजा पृथुले आफ्नो वशमा लिन सकेको हुनाले धर्तीलाई सोही बेलादेखि पृथ्वी पनि भनिन थालियो । यसका अरू नामहरु धरा, धर्ती, धरत्री, वसुधा, वसुन्धरा, वसुमती आदि हुन् जहाँ हामी अनादिकालदेखि बसोबास गरिआएका छौँ । हिन्दू दर्शनअनुसार संसारसृष्टिको आदिकारण पञ्चतत्वलाई मानिन्छ । पञ्चतत्वकै कारण जीव र जगत्को सृष्टि भएको हुन्छ भन्ने यस दर्शनको मान्यता रहेको छ र पञ्चतत्वहरू जल, तेज, वायु, आकाश र पृथ्वी भनेर मानिएको छ । वैदिक मन्त्रमा पनि यसलाई समेत सम्बोधन गर्दै ॐ द्यौः शान्ति ! अन्तरीक्षः शान्ति ! पृथ्वीः शान्ति...भनेर प्रार्थना गरेको पाइन्छ । यसअर्थमा पृथ्वीको महत्व स्वतः प्रस्ट हुन आउँछ ।

तर आधुनिक विज्ञानले पृथ्वीको उत्पत्तिदेखि लिएर यसको बाह्य र आन्तरिक सम्पूर्ण अवयवहरूको बारेमा ठोस तर्क, तथ्य तथा प्रमाणहरूसहित धेरै कुराहरूको खुलासा गरेको छ । 

आजका दिनसम्म आइपुग्दा पनि अन्तरीक्ष अनन्त रहस्यले भरिएको मानिन्छ जब कि यसका केही आयामहरूबारे वैज्ञानिकहरूले पत्ता लगाउदै आएका छन् । अन्तरीक्षको सीमा र यसको फैलावलाई आजसम्म मापन गर्न सकिएको छैन । अनन्त अन्तरीक्षमा अनेकाँै सौर्यमण्डलहरू रहेको हुनसक्ने अनुमानहरू गरिएका छन् र तीमध्ये हाम्रो सौर्यमण्डल पनि एक हो । हाम्रो सौर्यमण्डलको (सक्रिय) सदस्य पृथ्वी एक गोलो पिण्डको रूपमा रहेको कुरा पत्ता लगाउँन धेरै दार्शनिक तथा गणीतज्ञहरू(पाइथागोरस, हेरोडोटस, प्लेटो, अरस्तु, सेल्युकस, पोसिडोनियस)का विचारहरू महत्वपूर्ण मानिन्छन् । त्यस्तै गरी सामुद्रिक यात्रीहरू फर्निनाण्ड मेगोलान र जुआन सेबासियनहरूको पनि यसमा महत्वपूर्ण योगदान रहेको मानिन्छ । त्यसै गरी क्लाउडियस  टोलेमीले त ईसाको द्वितीय शताब्दीमै पृथ्वी गोलो पिण्डको रूपमा रहेको ठोकुवा गरे । पृथ्वी गोलो छ भन्नेहरू सधैँभरी क्याथोलिक चर्चको दमनको सिकार भइरहे । किनभने बाइबलले पृथ्वीलाई रिकापीजस्तो(Flat) छ भनेर भनेको पाइन्छ । त्यसको लगत्तै पन्ध्रौँ शताब्दीमा निकोलस कोपर्निकसले पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भनेपछि त्यस भनाइले बाइबलको स्थिर पृथ्वी(सामः ९३ः१, क्रोनिकलः १६ः३०, इसाः ४५ः१८)को धारणालाई चुनौती दिएको थियो । कोपर्निकसको सोही भनाइलाई थप पुष्टि गर्दै पृथ्वी गोलो त छँदैछ उसमा पनि यो आफँै पनि घुम्छ र यसले सूर्यको परिक्रमा पनि गर्छ भनेर सप्रमाण दाबी गर्नेे आधुनिक विज्ञानका जन्मदाता ग्यालिलियो(१५६४१६४२) लाई त तत्कालीन धार्मिक न्यायालय अर्थात् चर्चले झनै उग्ररूपले दमन गरेर उनलाई नजरबन्दमा राख्यो । किनभने पृथ्वीलाई नै संसारको केन्द्र(Geo-centric) मान्दै आएको धार्मिक सत्तामा उनको भनाइले अरू धेरै कुरामा पनि बिघ्नबाधा र आपतविपत खडा गरिदिनसक्ने सम्भावना थियो । कालान्तरमा ग्यालिलियोकै भनाइ पुष्टि भयो र आज अन्तरीक्षबाट खिचिएका तस्वीरहरूले सोही कुरा प्रमाणित गरिदिएका छन् । 

सूर्यलाई परिक्रमा गर्ने हाल आठवटा पिण्डहरूलाई ग्रहको मान्यता दिइएको छ र तीमध्ये पृथ्वी पनि एक हो । सूर्यबाट क्रमशः टाढा रहेका बुध, शुक्र, पृथ्वी, मङ्गल, वृहस्पति, शनि, अरूण र वरूण ग्रहहरूमध्ये आकारको हिसावले पृथ्वी पाँचौँ ठूलो ग्रह हो । यमलाई ग्रहको लिस्टबाट वैज्ञानिकहरूले हटाएका छन् किनभने यस पिण्डले अरू ग्रहपिण्डका कक्षलाई अतिक्रमण गरेर जान्छ । यस अर्थमा सूर्यबाट पृथ्वीको दूरी १४ करोड ९० लाख किलोमिटर छ । पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा पृथ्वीबाट ३,८४,४०३ किलोमिटर टाढा छ । त्यसैगरी सबैभन्दा नजिक आएको बेला पृथ्वी र मङ्गलको दूरी ५ करोड ४६ लाख किलोमिटर हुनजान्छ । त्यसै गरी शुक्र र पृथ्वीको दूरी ३ करोड ८० लाख कि.मी. छ । यसरी पृथ्वीले सौर्यमण्डलमा रहेर आफ्नो गति कायम राखेको छ । 

वैज्ञानिकहरूका अनुसार साढेचार अर्ब वर्ष पहिले पृथ्वीको उत्पत्ति भएको हुनुपर्छ भन्ने मान्यता रहेको छ । यसलाई सूर्यबाट नै बनेको भनेर वैज्ञानिकहरूले आफ्ना अनेकौँ अनुमान(Hypothesis)हरू अगाडि सारेका छन् । यसको उत्पत्ति भएको एक अर्व वर्षपछि नै पृथ्वीमा जीवको सृष्टि भएको हुनसक्ने अड्कल गरिएको छ । वैज्ञानिकहरूले अहिलेसम्म पृथ्वीबाहेक अन्य ग्रहहरूमा जीवन रहेको प्रमाण भेटाइ नसकेको बताउँछन् । जसरी मङ्गल ग्रहलाई रातो ग्रह भनिन्छ उसरी नै अन्तरीक्षबाट हेर्दा पृथ्वीको रङ नीलो देखिने भएको हुनाले यस ग्रहलाई नीलो ग्रह (Blue Planet)पनि भनिन्छ ।

पृथ्वीको जमिनी सतहको भौतिक संरचना अनेकाँै प्रकारका खनीजहरूको मिश्रणले बनेको छ तीमध्ये सिलिका ६० प्रतिशत, आलुमिनियम १५ प्रतिशत, लाइम ५ प्रतिशत, फलाम ४ प्रतिशत, म्याग्नेसियम ३ प्रतिशत र बाँकी अन्य खनीजहरू रहेका छन् । त्यसै गरी पृथ्वीको सबैभन्दा गहिरो भाग प्रशान्त महासागरको जापान, फिलिपिन्स र पपुवा न्यूगिनीबाट नजिक पर्ने मेरियाना ट्रेन्च (१०,९७१ मी.) रहेको छ भने सबैभन्दा अग्लो स्थान सगरमाथा (८८४८ मी.) हाम्रै देशमा उभिएको छ ।  

पृथ्वीको जमिनखण्ड पहिले एउटै रहेको मानिन्छ जसलाई रोडिनिया(Rodinia) भनिन्छ । रोडिनिया कालान्तरमा विभाजित भएर पानासिया(Panacea) र पांगिया(Pangea) दुई भागमा बाँडियो । यसै गरेर लामो समयपछि सातवटा महाखण्डमा विभाजित भयो । यसले के देखाउँछ भने पृथ्वीको सतह विभिन्न प्लेटहरूले बनेको छ । ती प्लेटहरू सुस्त गतिले चलायमान पनि छन् । प्लेटहरू गतिशील हुने यस प्रक्रियालाई प्लेटटेक्टोनिक्स (Plate Tectonics)भनिन्छ । ती प्लेटहरू आपसबाट टाढा जाने, समानान्तर चल्ने, नजिक आउँने र एकआपसमा ठोक्किदा धस्सिने वा उचालिने पनि गर्दछन् । यही प्रक्रियाबाट हिमाल र पहाडहरूको अस्तित्व देखापर्दछ र पृथ्वीको सतहमा उथलपुथल वा प्रलय मच्चिन सक्दछ । सामान्यतया यही प्लेटटेक्टोनिक्सको कारणले भूकम्प आउने गर्दछ । प्लेटहरू गतिशील भइरहेका यस्ता संवेदनशील क्षेत्रहरूमा ज्वालामुखी विस्फोट र भूकम्पको सदैव खतरा रहिरहन्छ । हाम्रो देश पनि टिबेटियन प्लेटमा इण्डियन प्लेट धस्सिने(Subduction) प्रक्रियाको क्षेत्रमा पर्दछ । यसको कारणले नै यस क्षेत्रलाई भूकम्पको जोखिमले भरिएको धराप भनिन्छ । 

पृथ्वीको अर्को महत्वपूर्ण पाटो के हो भने यसको वरिपरि वायुमण्डल छ जसले पृथ्वीमा जीवन सम्भव बनाइदिएको छ । पृथ्वीको सतहबाट दशहजार कि.मी. माथिसम्म वायुमण्डलको अस्तित्व रहेको छ । वायुमण्डलले पृथ्वीको तापमानलाई नियमन गरिरहेको हुन्छ । अर्कातिर पृथ्वीको करीव ७० प्रतिशत भाग समुद्रले ढाकेको छ भने ३० प्रतिशत भागमात्र जमीनले ओगटेको छ । समुद्रमा पनि अनेकौँ प्रकारका जीवहरू रहेका छन् र त्यसैगरी जमीनमा पनि अनेकौँ प्रजातिका सानाठूला वनस्पति र जीवजन्तुहरू रहेका छन् । 

पृथ्वीमा जीवको अस्तित्वरक्षाका लागि माटोको अहं भूमिका रहेको हुन्छ । माटो बन्ने प्रक्रिया ज्यादै ढीलो हुनेगर्दछ । सामान्यतया पितृ चट्टानहरू(Parent Rocks) मक्किएर वा तिनमा हुने भौतिक, रासायनिक तथा अन्य जैविक प्रक्रियाहरूको प्रतिक्रियाहरूबाट माटो बन्नेगर्दछ । माटोमा त्यसैले अनेकौँ जैविक तथा अजैविक रासायनिक तत्वहरू रहेका हुन्छन् जसलाई विरुवाहरूले आफ्नो जराहरूबाट सोसेर लिनेगर्दछन् । 

पृथ्वीका केही रोचक प्रसङ्गहरूमध्ये आचार्य न्युटनको गुरुत्वआकर्षणको सिद्धान्तअनुार पृथ्वी ६० र यसका पछि २४ वटा सून्य थप्दा जति हुन्छ त्यति नै किलोग्राम यसको स्थिर वजन रहेको वैज्ञानिकहरू बताउँछन् । तर प्रत्येक वर्ष पृथ्वीमा करीव २२,००० मेट्रिक टन तौल बराबरका लाखौँ उल्कापिण्डहरु खस्ने गर्दछन् । यसरी नै पृथ्वीको औसत  व्यास १२,७४२ किलोमिटर छ । त्यसै गरी भूमध्यरेखीय परिमिति ४०,०७५ किमी छ । पृथ्वीको औसत घनत्व ५.५१५ ग्राम प्रति घन सेन्टिमिटर रहेको छ भने यसको सतहको औसत तापक्रम १४ डिग्री सेल्सियस हुन आउँछ । पृथ्वीको सतहबाट कुनै वस्तुलाई अन्तरीक्षमा पठाउँनु पर्दा ११.१८ किमी प्रतिसेकण्डको दरले माथि फाल्नुपर्दछ । अन्यथा उक्त वस्तु कुनै तरहले पृथ्वीमै झर्दछ । किनभने पृथ्वीले हरेक वस्तुलाई ९.७८ मी प्रतिसेकेण्डका दरले तान्नसक्छ । उसैगरी मानिसले पृथ्वीमा बनाएको सबैभन्दा गहिरो खाल्डो वा प्वालको गहिराई १२ कि.मी.(पश्चिम रूसमा) छ । त्यस्तै संसारमा हाल २०३ वटा स्वतन्त्र देशहरु रहेका छन् र तीमध्ये १९३ वटा देशहरु संयुक्त राष्ट्रसंघका सदस्य छन् ।   

वर्तमानमा पृथ्वीले भोगेको समस्याको कुरा गर्दा प्रथमतः मानवीय कारणले निम्तिएको मरुभूमिकरण, विश्वव्यापी तापमान वृद्धि, वनस्पतिको विनास, आणवीक समस्या आदि प्रमुखरूपले पर्दछन् । उपरोक्त समस्याहरूले पृथ्वीको भविष्यलाई अनिश्चित बनाइदिएका छन् । वास्तवमा पृथ्वी आफैँमा केही पनि होइन । यसको महत्व त यसमा पाइने जीवन नै हो किनभने सौर्यमण्डलमा जीवनको अस्तित्व पत्ता लागेको यही एउटा ग्रहमा मात्र हो । हामीले वनस्पति, माटो र पानीलाई उचित तरिकाले प्रयोग गर्न जानेनौँ भने पृथ्वीले हामीलाई आधारभूत सेवाहरू प्रदान गरिरहन सक्दिनन् । जसको फलस्वरूप अन्य जीवको भविष्यदेखि लिएर स्वयं मानवसभ्यता नै सङ्कटमा पर्नेछ । अतः पृथ्वीमा रहेका सबै प्रकारका प्राकृतिक स्रोतहरूलाई दिगोरूपले उपयोग गर्ने नीतिलाई कडाइपूर्वक लागू गर्न सकिएन भने प्रकृतिको वा धर्तीको चर्को दोहन हुनेछ र त्यसको कुल परिणाम सकारात्मक हुनेछैन । धर्तीमा एकमुठी माटो बन्न करोडौँ वर्ष लाग्दछ तर हाम्रो देशबाट मात्र वर्षको करोडौँ घन मिटर माटो बगेर बंगालको खाडीमा पुग्दछ । उसै गरी हाम्रो देशको पहाडी भेगमा हुने गरेका अव्यवस्थित बाटो निर्माण, परम्परागत खेती प्रणली र बाढी पहिरोको कारणले पनि जथाभावी माटो विनास भइरहेको छ । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने यसको परिणाम पनि नकारात्मक नै हुनेछ । अर्कोतिर चुरेक्षेत्रमा हुने र हुनसक्ने अनियन्त्रित वन विनासले त्यहाँको कमजोर (Fragile)जमीनको कारण तथा जथाभावी ढुङ्गा, गिटी, बालुवा निकाल्न दिइँदा तराईको उत्तरीक्षेत्रमा मरुभूमिकरणको समस्या देखिने प्रबल सम्भावना छ भने तराईकै दक्षिणी भाग भने हिन्दुस्तानी सीमावर्ती बाँधहरूका कारण डुबानमा पर्नेछ र तराईको भविष्य सङ्कटमा पर्ने प्रायः निश्चित छ । परिणामस्वरूप हाम्रो देशको राष्ट्रिय अर्थतन्त्रमा मात्र होइन अरू धेरै कुरामा गम्भीररूपले नकारात्मक असर पर्नेछ ।
  
अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० अप्रिल २२ बाट शुरु गरेको पृथ्वी दिवस हरेक वर्ष यही दिन विश्व भरी नै मनाइन्छ । कल्याणी धर्ती सबै जीवजगत्की साझा बासस्थान हुन् भन्ने कुरा सम्झिनु आवश्यक छ । हामीले धर्तीको इज्जत गर्न जान्यौँ भने मात्र उनले पनि हामीलाई आवश्यक स्रोत र साधन तथा सेवाहरू सतत प्रदान गरिरहन सक्नेक्छिन् अन्यथा निकट भविष्यमै हामी पृथ्वीबासीले अकल्पनीय दुक्ख पाउने कुरामा कुनै शङ्का छैन । 

  : नरेन्द्र पराशर
(पूर्व प्रकाशित)



No comments:

Post a Comment