Friday, January 4, 2013

“हजार वर्षको निद्रा” मा मस्त: कवि भूपिन व्याकुल

भाषाको सबैभन्दा उत्कृष्ट र सुन्दरतम प्रस्तुति नै कविता हो भन्ने विचारद्वारा शायद मेरो अवचेतन मन प्रभावित भएको हुनुपर्दछ । त्यसैले मलाई कविता एकदमै मनपर्छ । म कुनै पनि कविताहरूलाई प्रेमपूर्वक पढ्ने गर्दछु । कवितालाई साँचो अर्थमा कविताजस्तो पाएपछि म पुलकित हुनेगर्छु र मेरो हृदयमा आनन्दानुभूति आविर्भाव हुन्छ । चाहे छन्दोबद्ध हुन् वा छन्दमुक्त कविता नै किन नहुन् म तिनमा श्रद्धा र शान्तिपूर्वक प्रवेश गर्दछु । कविताले हृदयमा प्रभाव जमाएछ भने त्यसमाथि केही लेख्न मन लागेमा म पटक्कै अल्छी मान्दिनँ ।

केही महिनाअघि चितवन पुगेको बेला एउटा कविता सङ्ग्रह फेला प¥यो हजार वर्षको निद्रा। मलाई सङ्ग्रहको नामले नै पहिलोपटकमै मनमा एक फरक प्रकारको कौतुहल जन्माइदियो । किनभने निद्रा आफैँमा एउटा रहस्यमय प्राकृतिक गुण हो । निद्रावस्थामा पुगेपछि हरकसैले सचेत मन गुमाउँछ र शुषुप्तावस्थामा पुग्दछ । यही निद्रावस्थामै मानिसले अनेक प्रकारका रमाइला र नरमाइला सपनाहरू देख्नसक्छ । अनि हरेक चौबीस घण्टामा  निद्राले हरकसैलाई पनि बाँकी नराखी केही न केही घण्टा गाँजेरै छोड्छ । सम्यक् निद्रा आफैँमा माधुर्य र आनन्दको अजस्र स्रोत पनि हो ।

बाग्लुङ स्थायी घर भएका र हाल भरतपुर चितवन बस्ने कवि भूपिन व्याकुलको उक्त हजार वर्षको निद्रा कवितासङ्ग्रह पढ्दै म भरतपुर चितवनबाट काठमाण्डौ उपत्यका प्रवेश गरेँ र मलाई सार्वजनिक बसको यात्रा भूपिनकै कविताजस्तै आनन्ददायी लागिरह्यो ।

शिक्षाशास्त्रमा स्नातकोत्तर कवि व्याकुल वर्तमान सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक, आध्यात्मिक, भौतिक परिवेश तथा जीवनका अनेकानेक अवयवहरूको आरोहअवरोहद्वारा उद्वेलित र व्याकुल हुँदै कविता रचना गर्नसक्ने एक सशक्त अनि सारस्वत प्रतिभा हुन् भन्ने कुरा उनको हजार वर्षको निद्रा ले प्रमाणित गरिदिएको छ ।

सुतिसकेपछि निद्राले छोप्ने सम्भावना ज्यादा रहन्छ र निद्राले मानिसका सम्पूर्ण क्रियाकलापहरू निस्क्रिय बनाइदिन्छ । निस्क्रियताले थप आलस्य र अझ गहिरो निद्रामा लैजाने प्रवल सम्भावना रहन्छ । वास्तवमा भयानक निद्रामा सुतेर मानिसले कुनै इतिहास रचना गर्नसक्दैन । इतिहासले सबैलाई सधैँभरि कुम्भकर्ण बनाउँने कुअवसर प्राप्त गर्न पनि सक्दैन । रामायणका कुम्भकर्णमात्र निद्राबाटै इतिहास कायम गर्ने एकमात्र अपवादी पात्र हुन् । शायद कुम्भकर्ण पनि हजार वर्षसम्म सुतेका थिएनन् । तर कवि भूपिन मानवसभ्यतालाई नै हजार वर्षको निद्राबाट व्युझिन विनम्र अनुरोध गर्दै अनेकौँ प्रकारका अतिवादी धारणाहरूबाट मुक्त हुन सबैलाई आग्रह गर्दछन् । हजार वर्षको निद्रा कवितासङ्ग्रहका कविताहरू जीवनको नवीनतम मूल्यमान्यताहरूको खोजीमा केन्द्रित हुने अभिलाषाले प्रेरित देखिन्छन् । व्याकुलका कविताहरूले अतीत र वर्तमानमा मानिसले भोगिसकेको र भोग्दै गरेको यावत् अनुभव अपूरो र अधुरो रहेको बताउँदै भविष्यमा नयाँ र आनन्ददायी क्षणहरूको सिर्जनात्मक सम्भावनालाई आशावादी दृष्टिकोणबाट प्रेषित गर्ने कलात्मक प्रयत्न गरेका छन् । यसरी कवि व्याकुल एउटा अनौठो उटोपियाको काल्पनिक चित्रकारीको क्यानभासनजिक भावुक देखिन्छन् । उनको यस कवितासङ्ग्रहमा हाम्रो समाजको भूत, वर्तमान र भविष्यसमेत एकै बिन्दुमा उभिन आइपुगेको हो कि भन्ने आफैँमा अनौठो र नौलो  अनुभूति हुनेगर्दछ । बालबालिका, युवायुवती, वृद्धवृद्धाहरूको भावनात्मक पृथकता र माग, उत्कण्ठा, आवेग र अनुभवहरूको संयोजनकारीे अमूर्ततामा जे जस्तो मूर्तता महसुश गर्न सकिन्छ व्याकुलका कविताहरूमा पनि ठीक त्यही प्रकारको कल्पनातीत माधुर्यको आस्वाद प्राप्त गर्न सकिन्छ ।

हजार वर्षको निद्रा अड्चालीसवटा गद्य कविताहरूको प्राणसम्पन्न सङ्ग्रह हो । सातवटा फरक खण्डहरूमा विभाजित यस सङ्ग्रहका कविताहरूको इन्द्रेणी पनि उसैगरी सप्तरङ्गी बनेर क्षितिजदेखि आकाशसम्म उचालिएको छ । यहाँ हरेक कविताले आफ्नो अलग र अद्भूत आकाश निर्माण गरेको महसुश हुन्छ भने पाठक उक्त खुल्ला आकाशमा उन्मुक्तता अनुभव गर्नसक्दछ । कविताले यसरी पाठकलाई नयाँ र पारावार खुलेको विस्तीर्ण आकाश प्रदान गर्नु भनेको रचनाकार र कविताको जीत हो । भूपिनका यी चामत्कारिक कविताहरूले पाठकको शोषण गर्दैनन् बरु हृदयमा वर्षौँदेखि रहेको अज्ञात काव्यिक तीर्खालाई मेटाउँन सौन्दर्यात्मक चेतनाको जल प्रदान गर्दछन् ।

आफ्ना कविताहरूमा कवि व्याकुलले कुनै पनि वादको झण्डोत्तोलन नगरीकनै निर्भिकतापूर्वक एक्काइसौँ शताब्दीमा मान्छेले भोग्दै गरेको समकालीन मनोचेतनालाई कलात्मकतासहित विद्रोही ध्वनि प्रदान गरेका छन् । यस अर्थमा उनका कविताहरूले पाठकलाई आफू उभिएको यथास्थितिक मूल्यमान्यताको वृत्तमुनि अकल्पनीय भूकम्प पैदा गराइदिने सामथ्र्य राख्दछन् । व्याकुलका कविताहरू स्वानुशासित जीवनको सुन्दर बगैँचाबाट भागेर कृत्रिम आस्था र विचारहरूद्वारा लादिएको कुरूप बालुवामा टाउको लुकाउँन अस्वीकार गर्दछन् । तसर्थ आजको विविधखाले तनावपूर्ण कालखण्डमा मानिसले बाँचिरहेको जीवन र जगत्को बाह्य र आन्तरिक स्वरूपमा उनका कविताहरूले गहिरो अन्वेषण गर्ने प्रयास गरेका छन् भन्न सकिन्छ । उनका फरक फरक कवितामा पाइने फरक फरक द्रव्यले पाठकलाई कहीँ द्रवीभूत पार्दछन् भने कहीँ मर्माहत त कहीँ आल्हादित र कहीँ त आक्रोसित पनि । तर पनि कवि व्याकुलले आफ्ना कविताहरूमा कहीँ पनि आग्रहपूर्णरूपले कसैलाई खुशी र कसैलाई दुक्खी पार्ने र कुनै प्रकारको लाभहानिको लालचले पहिले नै विजय सुनिश्चित भएको बेइमानीपूर्ण भावनाको कौडी हानेका छैनन् । संसारभरिकै वास्तविक कविहरूले जसरी सरकारी राजनैतिक सत्तालाई बहिस्कार गरेका छन् ठीक त्यसरी नै कवि व्याकुलले सत्ताका शक्ति केन्द्रहरूलाई आफ्ना कविताहरूमा बेवास्ता गरिदिएका छन् । कविताहरू निरीहतापूर्वक बिलौनाका आँशु झार्दै झोक्राउँने हीन रचनाहरू हैनन् बरु तिनले भविष्यमुखी सुखद् संसारको निर्माणमा कविले आफ्नो धारणालाई अगाडि सार्नुपर्दछ भन्ने विचारसहित व्याकुलका कविताहरूमा समवेत स्वर पाइन्छ । अर्कातिर प्रयोग र नवीनताको चाहनालाई आत्मसात गरेका कविताहरूले वास्तविकरूपले वास्तविक उज्यालोको खोजी गर्ने प्रयास गरेका छन् जहाँ कुनै प्रकारको यन्त्रणा र पीडाहरूभन्दा टाढा रहेको जीवनको आलोक प्रकट हुन सकोस् ।

खासमा भन्ने हो भने कवि व्याकुलले परम्परागत ढर्रा र ढाँचाका कविताहरूलाई चुनौती खडा गरिदिएका छन् । यस अर्थमा उनी कवितालाई सङ्कीर्णतावादी घेराबाट मुक्त गराउँदै अपरिसीम काव्यिक चैतन्यको फराकिलो आकाशमा प्रवेश गराउँन चाहन्छन् भन्ने देखिन्छ । जीवनकेन्द्री सौन्दर्यपरकताले ओतप्रोत भएका व्याकुलका कविताका हरफहरूमा सबै प्रकारका पाठकहरूले देश, काल, परिस्थिति अनि प्रेम र प्रकृतिको  अनुरागपूर्ण युगीन चित्रण र मार्गरेखा अनुभव गर्न सक्दछन् ।

धेरै अर्थमा उच्चता कायम गरेको कवितासङ्ग्रह हुँदाहुँदै पनि केही कविताहरू लघुकथाका दाजुभाइजस्ता देखिनु भनेको प्रयोगको नाममा प्रयोगजस्तो मात्र लाग्दछ भने ईश्वरप्रति लगाइएको लाञ्छनालाई कविले प्रमाणित गर्न सक्छन् त भन्ने प्रश्न उब्जिन सक्छ । मानिसले गरेको गल्तीलाई ईश्वरको थाप्लामा खन्याउँनु कति र कुनहदसम्म सही हो भन्ने कुरा ईश्वरवादीहरूको चासो र विमतिको विषय हुनसक्ने देखिन्छ । उस्तै प्रकारले परिवर्तन जस्तो शीर्षकको कवितामा मिहिनप्रकारको निराशा झल्किएको देखिन्छ भने ईश्वर ः केही शोक गीतहरू खण्डमा ईश्वरको अस्तित्वलाई अस्वीकार गर्ने कविले एम्बुलेन्सभित्र देश खण्डको अन्तिम कविता मा ईश्वर पुकारा गरेको देखिँदा केही अमिल्दो लाग्दछ ।

समग्रमा हेर्दा कवि व्याकुलले कविता रचना गर्दा विषयवस्तु छनौट गर्ने, त्यसको पाठ तयार गर्ने, सन्तुलित र सुललित शब्दहरूको प्रयोगसहित कलात्मकता प्रदान गर्ने क्रममा प्रशस्त परिश्रम गरेको अनुभव हुन्छ । उनका यी कविताहरू योजनाबद्ध ढङ्गबाट परिस्कृत र परिमार्जितमात्र होइन सोही प्रकारले सङ्ग्रहको रूपमा ल्याउँनुअघि पनि निकै सुझबुझपूर्ण ढङ्गबाट तयारी गरेको प्रतीत हुन्छ । मनमा फुरेको भरले लेखिहाल्ने र छापिहाल्ने हतारोले कवितालाई न्याय गर्नसक्दैन । तर त्यसको ठीक विपरीत योजनाबद्ध परिश्रम र परिस्कारले व्याकुलको काव्ययात्रालाई सफलताका लागि मार्ग प्रसस्त गरेको छ । अन्त्यमा भूपिनकै शब्दमा

पूरै जीवनभरि अर्थ लगाउँन पुग्नेगरी
मेरो हातमा एउटा कविता थमाएर
लापत्ता भएको छ मेरो प्रिय कवि !

(दिवङ्गत कविको नाममा)

                                                            ःनरेन्द्र पराशर
                                                 नयाँपत्रिका दैनिक: २०६८।०१।०३

  

No comments:

Post a Comment