वृद्ध मादल हुँ थोत्रो ठोकिदिए म नाच हुँ !
हुँ म ढुङ्गा उही सार्हो खोपिदिए म चित्र हुँ
नौनी नै हुँ सधैं गीलो ताप पाए विचित्र हुँ !
फूलको केन्द्रमा लुक्दा सानो नानी पराग हुँ
नदीको छालमा बग्दा अक्षम्य अपराध हुँ !
ताराको देशमा घुम्दा मात्र मान्छे स्वतन्त्र हुँ
मान्छेकै भींडमा पुग्दा मात्र जीवन यन्त्र हुँ
!
रैती नै हुँ उही झुप्रो पैसा भए म दान हुँ
बेहोशीमा म हुँ दोषी होशमा दोषहीन हुँ !
भत्केको एक पाटी हुँ बसे यात्रु म गर्व हुँ
दारिद्र्यले रुवाएको नेपाली चाडपर्व हुँ !
घरमा म गुनासो हुँ बाहिर मतभेद हुँ
मान्छे म लहडी भेल प्रेममा मृदु मेल हुँ !
चिर्र-बिर्र गला खोल्ने पन्छीको म जमात हुँ
ज्योतिको दीप हुँ सानो सत्यको म प्रभात हुँ !
खुल्ला आकाश खोज्ने म छुट्टै जीवन ज्वार हुँ
तिमीबाट निकै टाढा एक्लै म परिवार हुँ !
No comments:
Post a Comment