Thursday, January 3, 2013

छन्दको परिधि र कविताको आधुनिक सन्दर्भ



स्वाभाविक रूपले एउटा प्रश्न बडो ज्वलन्त भएर आउने गर्छ ः वर्तमान युगको कठिन परिस्थितिमा मानिसले भोगेको उकुसमुकुस छन्दको लघु-गुरुको सीमितताभित्र अटाउन सक्छ त ?
जीवन र जगत्का गहनतम अनुभव सँगाल्दै गर्दा र आफ्नो परिवेशमा घटिरहने अनेकौँ घटनाक्रमसँगै प्रभावित हुँदै जाने क्रममा कविताको रचना भएको पाइन्छ । हृदयको अनन्त प्रकम्पनबाट स्वतस्फूर्त प्रस्फुटित हुन पुगेका कविता नै स्तरीय हुन्छन् । कविमा निहित अनुभूति र अभिव्यक्तिको शील र गुणले नै कविताको स्तर निर्धारण गरिरहेका हुन्छन् । कवि प्रतिभाहरूमा जीवन र जगत्लाई हेर्ने, बुझ्ने अनि ग्रहण गर्ने क्षमता पनि फरक हुन्छ । साथै, तिनको अभिव्यक्ति कला पनि आकर्षक र मर्मस्पर्शी हुने गर्छ । त्यसैले कवितालाई भाषाको सबैभन्दा सुन्दरतम अभिव्यक्ति पनि भन्ने गरिन्छ । यसअर्थमा कविता अनुभूतिहरूको सघन प्रस्तुति हो जहाँ सत्यम्, शिवम् सुन्दरम्को अनन्त ज्योति प्रज्वलित भइरहेको हुन्छ । लाखौँ टन कोइला समयक्रममा रूपान्तरित भई जसरी सानो हीरा बन्छ, ठीक त्यही प्रक्रियाजस्तै कविका अनेकौँ भाव र भावनाको महाहुन्डरीबाट एउटा कविता तयार भएको हुन्छ । यही कारणले गर्दा अनादिकालदेखि कविताले मानव हृदयलाई शतत आकषिर्त गर्दै आएको छ ।
संस्कृत भाषाका काव्य-महाकाव्यको अनुवादबाट सुरु भएको नेपाली साहित्य आजसम्म्ा आइपुग्दा विविध विधामा झांगिइसकेको छ । मौलिक रचनाका आधारमा कविता नै नेपाली साहित्यको प्रथम विधा होे । नेपाली भाषामा छन्दोबद्ध भानुभक्तीय रामायण प्रकाशित भएपछि नै कविता विधा झनै बढी आकर्षण र कुतूहलको विषय बनेर जनमानसमा फैलिन पुग्यो । वाणिर्क छन्दभित्र निहित ध्वनि, गति, यति, लय र अनुप्रासहरूको अनुपम् संगमले कवितालाई नेपाली समाजमा चामत्कारिक रूपले स्थापित गराइदिन सफल भयो । यही सेरोफेरोमा जन्मिन पुगे लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र माधव घिमिरेजस्ता आधुनिक नेपाली साहित्यका महारथिहरू जसले छन्दको मर्मलाई आत्मसात् गरेरै विविध काव्यकृति रचना गरे ।
वास्तवमा छन्द के हो त ? छन्द विशिष्ट लयविधान हो । छन्दभित्र लुकेको विशिष्ट लय विधानमा निःसृत संगीतले पाठक र श्रोतामा तीव्र संवेदना प्रकट गराउने सामथ्र्य राख्छ । यही कारणले गर्दा नै छन्दोबद्ध कविता कर्णपि्रय र श्रुतिमधुर हुने गर्छन् । तर, छन्दमा कविता रचना गर्न निकै ठूलो धैर्य, साधना र समर्पणको आवश्यकता पर्छ । छन्दमा कविता तयार पार्दा त्यहाँ कुनै पनि शाब्दिक जालझेल वा अन्य कुनै प्रकारका तिकडमले स्थान प्राप्त गर्ने मौका नै पाउँदैनन् । तसर्थ छन्दमा कलम चलाउनु चानचुने कुरा होइन । महाकवि देवकोटाको शाकुन्तल महाकाव्य, लेखनाथको ऋतुविचार र तरुण तपसी, माधव घिमिरेको गौरीजस्ता काव्यकृतिले छन्दको गरिमालाई जीवन्तता प्रदान गरेका छन् । छन्दोबद्ध कवितामा लुकेको सजीवताको त्यही दिव्य सम्मोहनले आजपर्यन्त धेरै कवि छन्दमा कविता रचना गर्न मन पराउँछन् । पूर्णप्रकाश नेपाल यात्री, मोदनाथ शास्त्री, भानुभक्त पोखरेल, वसन्तकुमार शर्मा नेपाल, रमेशचन्द्र अधिकारी, रमेश खकुरेल, भुवनहरि सिग्देल, ओमवीर सिंह बस्न्यात, शैलेन्दुप्रकाश नेपाल, रामप्रसाद ज्ञवाली, मित्रलाल पंज्ञानी, चन्द्रप्रसाद न्यौपाने, देवी नेपाल, बुनु लामिछाने, नवराज लम्साल, प्रभा भट्टराई, त्रिलोचन आचार्य, रामबाबु सुवेदी, ठाकुर शर्मा, तीर्थ अधिकारी, पीताम्बर भण्डारी, जगन्नाथ आचार्य, जित कार्की, श्यामकुमार बानियालगायत अन्य धेरै कवि छन्दोबद्ध कविता रचनामा साधनारत देखिन्छन् ।
तगण र मगणको गणितीय हिसाबमा अडिएर साधना गर्नु आफँैमा कठिन काम हो । लघु र गुरुको शुद्धताले वा गणहरूको नियमबद्ध पालनाले मात्र कविता बन्छ भन्ने भावना छन्दोबद्ध कविताको बद्नामीकै रूपमा देखा परेको अनुमान गर्न सकिन्छ । निकै दिग्गज कविका छन्दोबद्ध कविता पनि कविता कम र श्ल्ाोक बढी भएर प्रकाशित भएको पाइनु दुःखकै कुरा हो । संस्कृतमा शब्दकोश र आयुर्वेद पनि छन्दमा तयार पारिएका छन्, तर तिनलाई कविता मानिनुहुन्न भन्ने ज्ञान छन्दमा कलम चलाउने कविहरूले वेलैमा मनन गर्नु आवश्यक छ । छन्द र भाषाको शुद्धतालाई सन्तुलित बनाउनु, कविताको केन्द्रीय आशयसँग मिल्ने विम्ब र प्रतीकको उचित प्रयोग गर्नु, सिद्धान्त र दृष्टान्तको कलात्मक संयोजन गर्नु, विषयसापेक्ष शब्द चयन गर्नु, विभिन्न्ा प्रकारका अनुप्रासमा ध्यान दिनु, भावको एउटै मियोमा अडिनु, सम्बन्धित चिजबारे विशद् ज्ञान र अध्ययन हुनुजस्ता कुराले मात्र छन्दको कविता पूर्ण हुन सक्छ । अन्यथा छन्दोबद्ध कविता दुर्भाग्यवश अपूर्ण नै रहनेछन् । अपूर्ण कविताले आमपाठकको मन जित्न सक्ने त छैन नै ! छन्दप्रतिको धाराणासमेतमा नकारात्मक भावना पैदा गराउन भूमिका तयार पार्नेछ ।
विविध भाषाभाषी र जातजातिको सानो देशमा ब्राह्मणहरूको प्यावा वा नासोका रूपमा मात्र बुझनिे छन्दलाई व्यापकता दिनु आफैँमा सजिलो काम पनि होइन । छन्दको कविताले माग गर्ने विशिष्ट वाचनकला मातृभाषा नेपाली हुनेहरूकै लागि पनि फलामको चिउरा चपाउनुजस्तै भइसकेको अवस्थामा छन्द कवितालाई पुनर्जीवन दिने प्रयास गर्नु निकै असजिलो काम हो । तैपनि, छन्द त हाम्रो आफ्नै परम्परागत ज्ञान भएको हुनाले पनि यसलाई संरक्षण गर्ने, सम्वर्द्धन गर्ने र व्यापक पार्ने प्रयास भने भइरहनुपर्छ । साहित्यिक पत्रिकामा छन्द कविता समावेश गर्ने, छन्दोबद्ध कविता विशेषांक प्रकाशित गर्ने, साहित्यिक संघसंस्था तथा समूहले छन्द कविता लेखन प्रशिक्षण कार्यक्रम गर्न सुरु गरेको पाइनुले आगामी दिनमा छन्द कविताको भविष्यप्रति आशावादी हुन सकिन्छ । यस दिशामा रातो बंगला स्कुलको छन्द वाचन प्रशिक्षण, अनिल पौडेेलको छन्दको सुगन्ध क्यासेट, रामप्रसाद ज्ञवाली तथा देवी नेपालसहित रमेश शुभेच्छु र बुनु लामिछानेले छन्द प्रशिक्षणमा देखाएको चासोलाई निकै महत्त्वपूर्ण मान्नुपर्छ ।
बीसको दशकदेखि ओरालो झरेको छन्दोबद्ध कविता लेखन चालीसको उत्तरार्धदेखि पुनः उकालो लाग्ोको देखिन्छ । छन्दोबद्ध कविताको गरिमा, महिमा र स्तरीयतालाई जोगाउने दिशाामा समेत भए गरेका प्रयास र छलफलहरूले आगामी दिनमा नेपाली साहित्यले छन्दमा उत्तम कोटिका काव्यकविता प्राप्त गर्नर् सक्नेछ भन्ने आशा जगाएका छन् । तर, छन्द साधकहरू विषयवस्तुप्रति गम्भीर, इमानदार, धैर्यवान्, अध्ययनशील र उत्साही भएर प्रस्तुत हुनु आवश्यक छ ।
छन्द आफँैमा एउटा नियम र अनुशासनको पर्याय पनि हो । विषयवस्तुको तालसुर र संगति नमिलेमा ‘छन्द न बन्दको’ भन्ने चलन नै छ । यसर्थ छन्दमा कविता लेख्नु भनेको गम्भीर र गौरवको विषय हो भन्ने कुरा प्रस्ट हुन्छ । एउटा उत्तम कोटिको छन्दकविता तयार पार्न निकै काँटछाँट, संशोधन तथा परिमार्जनको आवश्यकता पर्छ । हतारमा तयार पारिएका छन्दोबद्ध-?) कविताहरूकै कारण मानिसमा छन्दप्रति वितृष्णा जागेको हो, छन्दप्रतिको रिसइवीको कारणले होइन । केही कट्टरपन्थी छन्दवादीहरू छन्दमुक्त कवितालाई कविता नै देख्दैनन् । देवकोटाको पागल कविता छन्दमा लेखिएको छैन भन्ने कुरा छन्दवादीहरूले बिर्सिनु हुँदैन । समय निकै कठोर र निर्मम पनि हुने गर्छ भन्ने कुरालाई सबैले आत्मसात् गर्नुपर्छ । छन्दमुक्त कविताले छन्दोबद्ध कवितालाई चुनौती दिने पर्याप्त अधिकार र क्षमता राख्छ भन्ने महसुस गरेरै छन्दमा साधना गर्नुपर्छ । अर्थहीन पाउलाई मधुर स्वरमा वाचन गरेकै भरले छन्दको मर्म र गाम्भीर्य उद्घाटन हुन सक्दैन । छन्द कवितामा वर्तमान समयले अंगीकार गरेको दर्शन, चैतन्य तथा समसामयिक यन्त्रणापूर्ण भोगाइ रचनात्मक र कलात्मक भएर समाहित भएको हुनुपर्छ । स्वाभाविक रूपले यहाँनेर एउटा प्रश्न बडो ज्वलन्त भएर आउने गर्छ ः वर्तमान युगको कठिन परिस्थितिमा मानिसले भोगेको उकुसमुकुस छन्दको लघु-गुरुको सीमितताभित्र अटाउन सक्छ त ? सर्सर्ती हेर्दा सक्छजस्तो लाग्दैन । तर, कुशल छन्द साधकले जस्तोसुकै भोगाइलाई पनि उपयुक्त छन्दमा उचित तरिकाले अभिव्यक्ति दिन सक्छ । यसर्थ छन्दोबद्ध कवितालाई युगसापेक्ष बनाउन छन्दवादी स्रष्टाहरूले आफू र आफ्ना रचनालाई तीव्र गतिमा परिमार्जन गर्नु आवश्यक छ । अन्यथा गद्य कविताले छन्दोबद्ध कवितालाई कुनातिर धकेल्ने निश्चितालाई कसैले पनि अस्वीकार गर्न सक्दैन ।

:नरेन्द्र पराशर

No comments:

Post a Comment