शारदानन्द नामक राजाकी छोरी विद्योत्तमा विद्या र ज्ञानले सम्पन्न थिईन् । तर दरबारमा उनीसँग रिसराग गर्ने पण्डितहरूले उनको विवाह कुनै मूर्खसँग गरिदिने षड्यन्त्र गरे र मूर्खका रूपमा एउटा गोठालो फेला पारे । किनभने उक्त गोठालोलाई उनीहरूले रूखको हाँगाको टुप्पापट्टि बसेर फेद काट्दै गरेको अवस्थामा फेलापारेका थिए । सो गोठालो शारीरिकरूपले अग्लो, बलिष्ठ र आकर्षक देखिए पनि बुद्धिका हिसाबले पट्मूर्ख रहेको कुरा बुझेपछि पण्डितहरूले उसलाई मौन–ब्रती विद्वान् बनाएर विद्योत्तमा छेउमा शास्त्रार्थका लागि पेश गरे । अनेक दर्शन, साहित्य र ज्ञानले सुसज्जित विद्वुषी विद्योत्तमाले पण्डितहरूद्वारा पेश गरिएको मौनब्रती विद्वान्लाई ‘संसार अद्वैतवादमा आधारित छ….?’ भन्दै एउटा औँला उठाएर सोधिन् । कुनै प्रकारको ढिलासुस्तीबिनै सो गोठालोले दुई औँला उठाएर जवाफ फर्काइदियो । पण्डितहरूले दुई औँलाको मतलब ‘द्वैतवाद’ हो र त्यसले नै संसारमा जीवन र गति प्रदान गरेको छ भन्ने अर्थ निकालेपछि विद्योत्तमाले आफ्नाअगाडि विद्वान्का रूपमा पेश गरिएको आकर्षक युवासँग विवाह गर्ने निधो गरिन् र विवाह पनि भयो । तर रहस्य खुल्नु अनिवार्य थियो । विद्योत्तमाले आफूमाथि छल भएको कुनै प्रकारले थाहा पाईन् र गोठालोलाई बलपूर्वक देशनिकाला गरिदिईन् ।
कुनै प्रकारको प्रतिकार गर्ने अवस्थामा नरहेको गोठालो भाग्नै पथ्र्याे, भाग्यो । तर यो घटनाले उसको जीवनमा तीब्र संघात पैदा गरिदियो । विद्या र शिक्षाको अभाव भएर नै आफू अपमानित र अपहेलित हुनुपरेको ठहर गर्दै उसले विद्याआर्जन गर्ने कठोर अठोट ग¥यो । रातभरि हिँडेपछि जङ्गलमा उसले बिहानीपख कतै विद्यार्थीहरू पढ्दै गरेको आवाज सुन्यो । र त्यही आवाज पछ्याउँदै ऊ कुनै गुरुकुलमा पुग्यो । कुनैतरहले उसले गुरुकुलपतिसँग भेट गर्ने मौका पायोे र विद्याआर्जन हेतु विद्यार्थीका रूपमा स्वीकार गर्न अनुरोध पनि ग¥यो । गुरुले परीक्षा लिँदा कुनै पनि प्रकारले योग्य नठहरिएपछि उसले पढ्न पाएन । तर पनि उक्त गोठालोले आश्रम छोडेर नजाने बरु अपहत्ते गर्ने बताएपछि गुरुले उसलाई भाँडा माझ्ने काम गरेर बस्ने व्यवस्था मिलाइदिए । ऊ गुरुकुलमा भाँडा माझेर बस्न थाल्यो ।
गुरुकुलको नियमअनुसार एकदिन कालीको मन्दिरमा पूजा गर्न जानुपर्ने थियो । तर गंगामा आएको भीषण बाढीको कारण कुनै पनि शिष्यविद्यार्थीहरू पूजासामग्रीसहित गंगापारि रहेको कालीको मन्दिरमा जान सकिरहेका थिएनन् । क्षणप्रतिक्षण समय गुज्रिँदै थियो । विद्योत्तमाबाट परित्यक्त उक्त केटोले भाँडा माझ्दै गरेको बेलामै एकाएक पारिजाने र कालीको पूजा गर्ने दाबी गरेर एक हातमा पूजासामग्री र अर्को हातमा भाँडा माझ्ने मस्को बोकी गंगामा आएको बाढीको सामना गर्दै मन्दिरमा पुग्यो । मलाई विद्या दिने भए देऊ हैनभने फूलले पूजा गर्ने त परै जाओस् यही भाँडामाझ्ने मस्कोले तिम्रो अपमान गर्छु भनेर पटकपटक भनेपछि काली प्रकट भई उसको सातपुस्तासम्म कुनै विद्या नभएको बताईन् । तर मूर्ख केटोले कुनै बहाना चल्दैन विद्या नै चाहियो भनेर जिद्धी गरेपछि कालीले मुख बाएर त्यसमा सातपटकसम्म पस्दै निस्कदै गर्न भनिन् र उसले त्यसै ग¥यो । अनि कालीले उसलाई आज तिमीले जे जति शास्त्र हातले स्पर्श गर्छौ सबै तिमीलाई कण्ठ हुनेछ र सोहीअनुसार विद्या र विनयले सम्पन्न हुनेछौ भनेर आशीर्वाद दिईन् । ऊ तत्काल पूजापाठ सकेर विद्याश्रममा फर्कियो र गुरुकुलको विशाल पुस्तकालयमा रहेका सबै पुस्तकहरू छुनथाल्यो । नभन्दै भाँडा माझ्दै गर्दा विद्यार्थीहरूले पढेको, भनेको वा गरेको कुरा कहाँकहाँ ठीक हो र कहाँकहाँ गल्ती हो भनेर भन्नसक्ने भएपछि उसको बारेमा गुरुकुलमा पुनः केरकार सुरु भयो र उसले आफ्नो सबै इतिवृतान्त बतायो ।
यसरी कालीको कृपाले विद्वान् भएको हुनाले उक्त युवालाई कालीदास भनिन थाल्यो ।
यसपछि कालीदास आफ्नी पत्नीकहाँ पुगे । उनी पत्नीनजिक पुग्दा ढोका बन्द थियो र ‘अनावृत्तकपाटम् द्वारं देही’ अर्थात् ‘ढोका खोलिदेऊ न’ भने । ‘अस्ति कश्चिद् वाग्विशेष ?’ अर्थात् ‘अरुकेही भन्नु छ ?’ विद्योत्तमाले भित्रैबाट भनिन् । बस् यिनै तीन वटा अस्ति, कश्चिद् र वाग् शब्दहरूबाट उनले अस्त्युत्तरस्याम् दिशि देवतात्मा… भन्दै कुमारसंभव महाकाव्य, कश्चिद्कान्ताविरहगुरुणा…भन्दै मेघदूतम् खण्डकाव्य र वागर्थविव संपृक्तौ…भन्दै रघुवंश महाकाव्य रचना गरेका हुन् भनिन्छ ।
वास्तवमा संस्कृतका महाकवि कालीदास कुन समयका कवि थिए भन्ने कुरा स्पस्ट छैन । तर पनि उनी विक्रमको प्रथम वा द्वितीय शताब्दीका हुनसक्ने अनुमान गरिन्छ । त्यसैगरी उनलाई कसैले बंगाली त कसैले उज्जैनी, कसैले मैथिल त कसैले सिलोनी पनि हुनसक्ने अनुमान गरेका छन् ।
‘ऋतुसंहार’लाई कालीदासको प्रारम्भिक कृति मानिन्छ । यसमा १४४ श्लोकहरू छन् र छ वटै ऋतुहरूको चामत्कारिक वर्णन गरेको पाइन्छ भने एघारसर्गमा विभाजित ‘रघुवंश’ महाकाव्यमा इक्ष्वाकुवंशी राजाहरू(दशरथ, रामचन्द्र)को चरित्र र इतिहासको मनोरम ढंगले व्याख्या गरेको पाइन्छ । उसैगरी सत्रसर्गमा तयार भएको ‘कुमारसंभव’ महाकाव्यमा शङ्करपुत्र कार्तिकेय कुमारको जन्म र चरित्रको अद्भूत व्याख्या गरिएको छ । ‘मालविकाग्निमित्र’ कालीदासको पाँच अङ्कमा रहेको नाटक हो र यसमा राजा अग्निमित्र र मालविका नामकी सुन्दर युवतीको प्रेम कहानी छ । उनको अर्को नाटक ‘विक्रमोर्वशीय’ हो । पाँचअङ्कमा तयार पारिएको यो नाटक उर्वशी र पुरुरवाको प्रेमकथामा आधारित छ । कालीदासको अर्को विश्वविख्यात कृति भनेको ‘अभिज्ञान शाकुन्तलम्’ हो । सात अङ्कमा रचिएको यस नाटकमा राजा दुष्यन्त र शकुन्तलाको भावातीत प्रेमकथा छ । ‘मेघदूतम्’ कालीदासको अर्को प्रसिद्ध खण्डकाव्य हो । यसमा कुनै निर्वासित यक्षले आफ्नी प्रियतमाबाट विछोडिनु पर्दा भोगेको वेदनासहित बादललाई खबर पठाएको मनोलाप छ ।
कालीदासका कृतिहरूमा अद्भुत काव्यकारिता झल्किन्छ । ‘उपमा कालीदासस्य’ भन्ने उक्तिले नै यस कुराको पुष्टि हुन्छ । अतिशय गरिमा र श्रद्धाले भरिएका प्रसादपूर्ण उनका कृतिहरूमा सत्यं, शिवं, सुन्दरम्को परम् ज्योति प्रज्वलित भएको हुन्छ । उनको शृङ्गारप्रधान काव्यकारिताको कुनै तुलना हुनसक्दैन । उसैगरी उनका कविताहरू कायरहरूलाई साहस, शूरवीरहरूलाई ओज वा हरेक प्रकारका व्यक्तिहरू जसलाई जे चाहिन्छ कामधेनुसमान सोहीअनुसारको आवश्यकता पूर्ति गर्न सक्षम छन् । उनका कृतिहरूमा उनी एक मनोवैज्ञानिक, दार्शनिक, वनस्पपतिविद्, भूक्षेत्रविद्, सौन्दर्यशास्त्री, इतिहासविद्, कूटनीतिज्ञ वा बहुप्रतिभासम्पन्न व्यक्तित्वसहित उपस्थित भएका हुन्छन् ।
कालीदासका प्राप्त यी सप्त कृतिहरूमध्ये मेघदूत र अभिज्ञान शाकुन्तलम् त सबैले कुनै पनि हालतमा अध्ययन गर्नैपर्ने अमूल्य निधिहरू हुन् । किनभने हाम्रो पूर्वीय दार्शनिक र साहित्यिक महत्ता कलालालित्यमा कसरी प्रकट भएको छ भन्ने कुरा त्यहाँ छर्लङ्ग हुन्छ । संस्कृत बुझ्नेहरूले त पढिसकेकै छन् नबुझ्नेहरूले पनि भाषानुवाद गरिएका कृतिहरू पढ्दा उत्तम नै हुन्छ । किनभने जसले कालीदासलाई पढेन उसले पक्का पनि केही न केही त गुमाउँछ नै । त्यसैले होला जर्मन दार्शनिक तथा कवि गेटेले कालीदासकृत अभिज्ञान शाकुन्तलम्को प्रशंसा यसरी गरेका छन् ः
‘वासन्तम् कुसुमम् फलम् च युगपद्ग्रीष्मस्य सर्वम् च यद्
यच्चान्यन्मनसो रसायनमतः सन्तर्पणम् मोहनम्
एकीभूतमभूत पूर्वमथवा स्वर्लोकभूलोकयो —
रैश्वर्यम् यदि वाञ्छसि प्रियसखे, शाकुन्तलम् सेव्यताम् ।।’
:नरेन्द्र पराशर
(पूर्व प्रकाशित)
No comments:
Post a Comment