‘अश्वत्थ सर्ववृक्षाणाम्’ सम्पूर्ण वृक्षहरूमा म पीपल हुँ भनेर श्रीमद्भगवद् गीता -१०/२६) मा भगवान् श्रीकृष्ण दाबी गर्नुहुन्छ । समुद्र सतहदेखि १६०० मिटर उचाइसम्मको क्षेत्रमा पाइने पीपल वृक्षलाई भारतवर्षको स्थानीय (एन्डेमिक) प्रजाति मानिन्छ । छिटो बढ्ने, प्रशस्त छत्र -क्राउन) फैलावट हुने, लचकदार र टल्किने पातहरू, उबडखाबढ कान्ड आदिले गर्दा यस वृक्षको भौतिक स्वरूप आकर्षक मानिन्छ । साथै, यस वृक्षको औषधीय गुणवत्ताको कारणले पनि अनादिकालदेखि नै आयुर्वेदिक चिकित्सकहरूले यसको महिमा गाउँदै आएका छन् । पीपलको पात, बोक्रा, फल, बीउ, जरा, चोप आदिमा अनेकन जैविक रासायनिक तत्त्वहरू हुन्छन् र तिनीहरूलाई औषधिको रूपमा प्रयोग गरिँदै आएको पाइन्छ । अर्को महत्त्वपूर्ण कुरा के भने रातदिन निरन्तर प्राणवायु उत्सर्जन गर्ने भएकोले पनि पीपललाई एउटा रहस्यमय वृक्षको रूपमा लिइन्छ । यस अर्थमा भगवान् कृष्णको ‘अश्वत्थ सर्ववृक्षाणम्’ भन्ने दाबीलाई अर्थपूर्ण मात्र होइन, वैज्ञानिकतामा आधारित नै मान्नुपर्छ । अर्कातिर भगवान् गौतमबुद्धले पनि यही वृक्षको फेदमा आजभन्दा छब्बीस सय वर्षअघि नै निर्वाण प्राप्त गर्नुभएको थियो । कुनै पनि वृक्षहरूको छेउमा बस्न पाउनु सबै मानिसका लागि सुखद र आनन्ददायी कुरा हुँदै हो । तर, पीपलवृक्षको सान्निध्य पाउनु भनेको थप केही रहस्यमय र गुणकारी पनि हो भन्नेे कुरा उपर्युक्त तथ्यहरूले उजागर गरेका छन् । नेपाली साहित्यिक जगत्मा पनि पीपलको ठूलो भूमिका रहिआएको छ । न्युरोडमा जुद्धशमशेरको सालिक मात्र छैन, त्यहाँ यही गुणकारी वृक्ष पीपल पनि आफ्नो सम्पूर्ण परोपकारी उदात्त भावनासँगै निकै लामो समयदेखि जस्ताको तस्तै शोभायमान छ । शायद यही कारणले होला मीनभवनको खरीबोट छोडेर कवि, लेखक, गायक, नेता, पत्रकार, बुद्धिजीवी, व्यापारीहरू न्युरोडको पीपलबोटमा भेला हुन थाले । वास्तवमा न्युरोडको पीपलबोटले बीसको उत्तरार्धदेखि नै मानसिक श्रम गर्नेहरूलाई निरन्तर आमन्त्रण मात्र गरेन बरु कालजयी सिर्जनाहरू गर्न प्रेरित पनि गरिरह्यो । हामीलाई थाहा छ- धेरै साहित्यकारले पीपलबोटको चौतारीमा रमाएका क्षणहरूको आल्हादकारी आनन्दको अनुभव संगालेका छन् । यही पीपलबोट हो जसले अनेकखालका साहित्यिक आन्दोलनहरूको उठान गर्नसमेत उत्प्रेरणा प्रदान गरिरह्यो । यही पीपलबोटको फेदमा हाम्रा अग्रज लेखक-साहित्यकारहरूले आपसमा हृदय साटासाट गरेर पवित्र प्रेम गरे । खुल्ला हृदयले अनेकौँ साहित्यिक विचार र वादहरूमाथि धीत मर्नेगरी बहस र छलफल गरे । छेउछाउका ध्वाँसे रक्सीभट्टीबाट बाहिर निस्किँदा कहिलेकाहीँ आपसमा हिलो छ्यापाछ्याप गरे पनि समान उद्देश्यका लागि एक भए । खुला आकाशमुनि चर्को स्वरले शाही प्रज्ञा-प्रतिष्ठानको रंगरोेगनको स्वरूपलाई सदैव चुनौती दिइरहे । वास्तवमा यही पीपलबोटको फेदबाट दर्जनाँै कालजयी पुस्तक नेपाली साहित्यले पायो । यसर्थ म यस पीपलबोटलाई सदैव सम्मान गर्छु । कदाचित् न्युरोड पुग्दा म यसको फेदमा क्षणभर उभिन्छु र यसभित्र रहेको ऐतिहासिक योगदानको धरोहरलाई सम्भिएर नतमस्तक हुन्छु । लेखनाथ पौडेलको तरुणतपसीझैँ एकतमासले एउटा लामो इतिहासको साक्षी बनेको पीपलबोट हेर्दा मभित्र अनेकौँ भावहरू प्रतिध्वनित भएर आएको महसुस हुन्छ । मलाई के लाग्छ भने अग्रजहरूलेे खाइखेली गरेको थलो भनेको एकप्रकारले हृदयलाई अविश्वसनीय रूपले ऊर्जासम्पन्न बनाउने पवित्र तीर्थ पनि हो । तर, समय सधैँभरि एकनासको रहने कुरा सत्य होइन र त्यसो भयो भने संसार नरमाइलो हुने कुरामा कुनै शंका रहन्न । कुनैवेला वाल्मीकि रामायण नेपालीमा उल्था हुँदामात्र पनि गर्व गर्नुपर्ने अवस्था थियो भने आज समयले धेरै कोल्टे फेरिसकेको छ । विश्वमा तीव्रगतिले भएको सञ्चार र यातायातको विकासमा नयाँ पुस्ताको सहज पहुँच र त्यसले निम्त्याएको प्रभावको कारणसमेतको कटु प्रहारले पनि हुनसक्छ पीपलबोटले आफ्नो पुरानो जवानी कायम राख्न सकेन । र, आजभोलि पीपलबोट एकप्रकारले थकित, दमित, त्रसित र भयभीत भएर झोक्राएको हो कि झैँ देखिन्छ । उक्त पीपलबोटलाई शान्त भएर अवलोकन गर्दा वास्तवमै त्यसले आफ्नो पुरानो आभा र लावण्य गुमाएको प्रतीत हुन्छ र हृदयमा एकप्रकारको अनौठो तिक्तता र खल्लोपनले घोच्ने गर्दछ । नयाँ पुस्ता आज निकै फरक र आक्रामक ढंगले प्रस्तुत हुन खोजिरहेको अवस्थामा र पीपलबोटको फेदमा बाँधिएका काँचा धागाहरूजस्तै लामो गोलचक्कर देखेर ऊ त्यसबाट टाढिन खोजेको छ । परम्परावादी ढर्राबाट एक कदम पनि अगाडि जान नचाहने र फरक ढंगको सोचलाई निषेध गर्ने वा आफ्नै मात्र सनाही बजाएर बस्ने आरोप पीपलबोटले खेपेको छ । उक्त आरोपमा सत्यको मात्रा जति होस्, आजभोलि युवाहरूले अलगअलग शैली र स्वरूपमा नयाँ चौतारीहरू बनाउने जमर्को गरेको कुरा भने सत्य हो । रेस्टुराँहरूमा होस् वा त्रिविको चौर वा अरू कुनाकाप्चाहरू नै किन नहुन्, तिनले नयाँ ठाउँबाट नयाँ सम्भावनाको खोजी गर्ने चर्को लालसा प्रकट गरिरहेका छन् । बूढो हुनु जीवनको नियम हो र पीपलबोट बूढो हुँदै गएको कुरा सत्य हो । फरक युग र नयाँ परिवेशको अलग आवश्यकता र बोधलाई सम्बोधन गर्न नयाँ विचार र फरक शैली अपनाउनु अपरिहार्य छ । नयाँ पुस्ताले भोग्दै गरेको वर्तमान समयको त्रासदी र दबाबलाई उजागर गर्न नयाँ पुस्ता मात्र सक्षम हुन्छ । आजको भागदौडको दुनियाँमा नयाँ पुस्ता एकाएक सबै प्रकारका सीमा र बन्धनलाई तोड्न चाहन्छ । यही भएर होला बजारमा आजभोलि नयाँ पुस्ता नै सशक्त रूपले हाबी भएर आएको छ । नयाँ पुस्ता जसरी नयाँ कुनाबाट नयाँ रूपरेखामा अगाडि आएको छ, यसले नेपाली साहित्यलाई छिट्टै नै अन्तर्राष्ट्रिय पहिचानको दायराभित्र छिराउन सफल हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । परम्परावादी धीमा र रुन्चे रचनाशैलीले नेपाली साहित्यलाई पुरानै गोलचक्करमा घुमाउँदै आफ्ना घरेलु पाठकहरूलाई बाध्यात्मक रूपले पुस्तक किन्न त लगाउला तर त्यसले नेपाली सीमा नाघ्न सक्दैन । सूचनासम्पन्न नयाँ पुस्ताको मनोकांक्षा र मनोविज्ञानलाई आज सहरका ठूला होटलदेखि लिएर कुनाकाप्चा र कन्दराहरूका छेउछाउमा हुने साहित्यिक कार्यक्रमहरूले उजागर गर्दै आएको भावनालाई बेवास्ता गरेर सहजै पन्छाउन सकिन्न । जुनसुकै वाद र विचारधारामा आस्था राख्ने भए पनि नयाँपन खोजिरहेको समयलाई पुरानै ढाँचा र ढर्राले अब थेग्ने सम्भावना छैन । यही कारणले हाम्रो समाजमा रहेका अतुलनीय लेखकीय खजानाहरूलाई नयाँ पुस्ताले दिनानुदिन नयाँ र फरक ढंगबाट खोजेर बाहिर ल्याउने जमर्को गरिरहेको छ । ल्याटिन अमेरिकी देशहरूका साहित्यकारहरूले मातृभाषामै लेखेर संसारभरि नै आफ्नो उपस्थितिलाई सुदृढ गर्न सक्छन् भने नेपाली साहित्यकारहरूले पनि आफ्नो क्षमतामा विश्वास गर्न सक्नुपर्छ । र, त्यस दिशामा प्रस्थान गर्न आफूलाई तयार पार्नु आवश्यक छ । यसका लागि नेपाली रचना उल्था गर्ने र वितरण गर्ने प्रक्रियामा केही महत्त्वपूर्ण थालनीका सुखद खबरहरू आएका छन् र नेपाली लेखकहरूले अब आफ्नो चैतन्य र बोधलाई अन्तर्राष्ट्रिय रंगमञ्चमा लैजानु छ भन्ने भावना बनाएर नै लेख्ने जमर्को गर्नुपर्छ । राम्रा रचनाहरू पस्किन सक्ने हो भने विश्वबजारमा माक्र्सवादी वा गैरमाक्र्सवादी कुनै पनि प्रकारका रचनाहरूको माग घटेको देखिँदैन । अंग्रेजी नजान्नेले लेखेको रचना अन्तर्राष्ट्रियस्तरको हुन सक्दैन कि भन्ने भावना लेखकहरूले हटाउनुपर्छ । चिज सही भयो भने संसारका कुनै पनि भाषामा उल्था गर्न अब कठिन छैन, भला त्यसका लागि केही परिश्रम गर्नु किन नपरोस् । मञ्जुश्री थापा -काठमाडौं), युग पाठक -हेटौंडा), दीपक सापकोटा -सिन्धुपाल्चोक), नयनराज पाण्डे -नेपालगञ्ज), मणि लोहनी -काठमाडौं), मनोज दाहाल -काठमाडौं), रोशन शेरचन -बाग्लुङ), बुद्धिसागर चपाई -कालिकोट), भूपिन व्याकुल -बाग्लुङ) लगायत बजारमा तत्काल नदेखिएका अन्य कैयौँ साधकले देखाएको वा देखाउने सम्भावनालाई स्वागत गर्दै आफ्नो सम्पूर्ण ऊर्जा र शक्तिले प्रकट हुन खोजिरहेको नयाँ पुस्तालाई पीपलबोटले खुला हृदयले स्वागत गर्नुपर्छ । अन्यथा पीपलबोट झनै उदास र कुण्ठित हुने कुरा निर्विवाद छ । :नरेन्द्र परासर
No comments:
Post a Comment